आयोनद्धारा शिक्षा तथा स्वास्थ्य समितिलाई वृहत यौनिकता शिक्षा सम्बन्धी दस्तावेज हस्तान्तरण
युवा सस्था सञ्जाल आयोन र राइट हियर राइट नाउ नेपालको संयुक्त प्रयासम तयार पारिएको वृहत यौनिकता शिक्षा सम्बन्धी सुझाव पत्र संघिय संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति माननीय जयपुरी घर्तीलाई बुझाइएको छ ।
आयोनका महासचिव निरज वागको नेतृत्वमा गएको एक युवा समुहले सभापति माननीय जयपुरी घर्तीलाई सिंहदरवार स्थित उहाँकै कार्यकक्षमा भेट गर्दे वृहत यौनिकता शिक्षा सम्बन्धी तयार पारीएको सुझाव पत्र बुझाएको हो । सुझाव पत्र ग्रहण गर्दे सभापति घर्तीले वृहत यौनिकता शिक्षा सामाजिक, मानसिक तथा मनोवैज्ञानिक दृष्टिकोणले अत्यन्तै उपयुक्त विषयवस्तु भएकाले यसको महत्वलाई आत्मसात गर्दे विद्यालय र उच्च माध्यामिक तहको पाठ्यक्रममा समावेस गराउन आफ्नो तर्फबाट आवश्यक पहल चाल्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले वृहत यौनिकता शिक्षालाई अनिवार्य विषय भित्रै अटाउने गरी पाठ्यक्रम विकास केन्द्रलाइ सुझाव दिने र एकिकृत पाठ्यक्रममा पनि यो विषयवस्तुलाइ उपयुक्त स्थान दिने गरी समन्वय गर्ने वताउनु भयो । कार्यक्रममा समितिकै सदश्य माननीय मन कुमारी जि. सी ले वृहत यौनिकता शिक्षाको अपरिहार्यतका बारेमा प्रकाश पार्दे किशोर किशोरीहरुमा यसको महत्व दिन प्रतिदिन बढ्दो रहेको धारणा राख्नु भयो । उहाँले शारिरिक र संवेज्ञात्मक परिवर्तनहरुसंगै किशोर किशोरीहरुको मानोविज्ञानमा पनि परिवर्तन आउने र उक्त समयमा वृहत यौनिकता शिक्षाका बारेमा यथेष्ट जानकारी प्राप्त गरेकाहरुले मात्र उपयुक्त भविष्यको निर्णय लिन सक्ने भएकाले वृहत यौनिकता शिक्षाको आवश्यकता थप महसुस हुन गएको स्पष्ट पार्नु भयो । कार्यक्रममा ज्ञापन पत्र बुझाउदै युवा संस्था सञ्जालका महासचिव निरज वागले वृहत यौनिकता शिक्षाको औचित्य र आयोनले युवाहरुको हकहित र पैरविमा हाल सम्म सञ्चान गरिरहेको गतिविधिका बारेमा सभापति जयपुरी घर्तीलाइ जानकारी गराउनु भएको थियो ।