निर्वाचन प्रक्रिया समावेशी बनाउन आयोनको माग
निर्वाचन प्रक्रिया समावेशी बनाउन आयोनको माग
काठमाडौं, माघ २९ : नेपाल युवा संस्था सञ्जाल (आयोन) ले निर्वाचन प्रक्रियालाई समावेशी बनाउन माग गरेको छ । आयोनका पदाधिकारीहरुले सोमबार निर्वाचन आयुक्त सुधीरकुमार शाहलाई भेटेर निर्वाचन प्रक्रियामा समावेशी सहभागीताको विषयमा मागपत्र बुझाएका छन् ।
लैङ्गीक तथा सामाजिक समावेशीता, बसाइ सराईं, सुशासन, नेतृत्व विकास लगायत अन्य विभिन्न क्षेत्रमा काम गर्ने सघंसस्थामा आवद्ध युवाहरूद्वारा आएको सुझावलाई समेटेर आयोनले मागपत्र बुझाएको हो ।
मागपत्रमा निर्वाचनको दिन मतदाता तथा प्रतिनिधिको रूपमा युवाको सहभागीता सुनिश्चित गरिनुपर्ने, निर्वाचनको दिनमा १८ वर्ष पुगेको नेपाली नागरिकले पनि मतदान गर्न मिल्नेगरि मतादाता नामावलीमा नाम दर्ता गराउन पाउने नीति बनाउनु पर्ने, निर्वाचनमा यौनिक तथा लैङ्गीक अल्पसङ्ख्यक युवाले पनि उम्मेदवारी तथा मतदान दिन पाउने व्यवस्थाको सुनिश्चितता गरिन पर्ने, विदेशमा बस्ने नेपाली नागरिकले पनि विद्युतिय माध्यमवाट मातदान गर्न पाउनु पर्ने लगायतका माग समावेश गरिएको छ ।
साथै निर्वाचनमा खटिएका पर्यवेक्षक तथा कर्मचारीले पनि निर्वाचन पुर्व वा पश्चात मतदान गर्न पाउने व्यवस्थाको सुनिश्चितता गर्न पनि आयोनले निर्वाचन आयोगसँग माग गरेको छ । “निर्वाचनको प्रक्रियालाई पनि पूर्ण समानुपातिक बनाउन माग गर्दै हामीले नर्विाचन आयोगलाई पत्र बुझाएका छौ”, आयोनका अध्यक्ष जगदिश ऐरले भने ।