+(977 1) 4257680 Contact: [email protected]

१८ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय युवा सम्मेलन सम्पन्न

 

जेठ–१८ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय युवा सम्मेलन सम्पन्न भएको छ । संविधान जारी भएपछिको राजनीतिक सङ्क्रमण, शान्ति, पुनर्निमाण तथा युवा र विकाससम्बन्धी मुद्दाहरूमा भएको   छलफल पछि १८ बुँदे घोषणापत्र जारी गर्दै शुक्रबार सम्मेलन सकिएको  हो। युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्को साझेदारी तथा नेपाल युवा संस्था संजाल (आयोन) तथा सर्च फर कमन ग्राउण्ड नेपालको आयोजनमा ललितपुरमा दुई दिनसम्म चलेको   सम्मेलनमा विभिन्न जिल्लाहरूबाट ५०० भन्दा बढी युवाहरूको सहभागिता रहेको थियो । युवा तथा खेलकुद मन्त्री सत्य नारायण मण्डलसहित राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल, सर्च फर कमन ग्राउण्डका युवाकरराज राजकर्णिकार तथा युनडीपी नेपालका राष्ट्रिय निर्देशक रेनाउड मेयेरले कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै सासंद रविन्द्र अधिकारीले अब नेता तथा युवाहरुले कुराले होइन कामले आफुलाई प्रमाणित गर्नुपर्ने बेला आएको बताए । यस्तै राष्ट्रिय योजना आयोगका सदस्य कृपा सिन्धु प्रसादले युवाका मुद्धाहरुलाई स्थानियकरण गर्नुपर्ने बताए । कार्यक्रममा भूकम्पपछिको पुनर्निर्माणका क्रममा पनि युवाहरूको सहभागिता तथा खबदरदारीपूर्ण कार्यहरू जरुरी रहेको सहभागिहरुले औंल्याएका थिए । यस्तै सुशासन, युवामैत्री नीति तथा कार्यक्रम, युवा स्वास्थ्य, वातावरण तथा आर्थिक दीगोपनमा युवाको भूमिका, संयुक्त युवा नेतृत्व तथा महिला नेतृत्वलगायतका विषयहरूमा पनि छलफल गरिएको थियो ।

१८ बुँदे घोषणापत्र

१ )  संविधानसभा मार्फत नया संविधान घोषणा भएको भएतापनि सबै नेपालीको भावना र आकांक्षा समावेश हुन नसक्दा जारी संविधानको अपनत्व कायम हुन सकेको छैन । संविधान कार्यान्वयनमा समस्या सृजना भएको वर्तमान अवस्थामा सबै पक्षसँग वार्ता, सम्वाद र छलफलका माध्यमबाट निकाश निकाल्न यो सम्मेलन जोडदार माग गर्दछ । हामी युवा दिगो शान्ति, सद्भाव र अपनत्वसहितको समावेशी संविधानको यात्रालाई सार्थक गन्तव्यमा पुर्याउनको निमित्त आवश्यक पहल, दबाब दिन र कार्य गर्न प्रतिवद्ध छौं ।

२) गत वर्ष गएको भुकम्प पश्चात तत्कालको राहत, उद्दार र पुर्नलाभमा युवाहरुले खेलेको भुमिका महत्वपुर्ण रहेको छ । जनउत्तरदायी र दु्रत गतिमा पुनर्निर्माणको अभावमा एक वर्ष वितिसक्दा पनि भुकम्प प्रभावितहरुका आधारभुत आवश्यकता समेत परिपुर्ति हुन सकिरहेको छैन । पुनर्निर्माणका नीति तथा सिदान्तहरु व्यवहारमा कार्यान्वयन हुन सकेको छैन, जसकारण लाखौं भुकम्प प्रभावितहरु अझै पनि अस्थायि टहरामा बस्न बाध्य छन । युवाको नेतृत्वमा जवाफदेहीतासहितको पुननिर्माणको प्रभावकारी कार्यान्वयनमा आवाज बुलन्द गर्दै युवाहरु देश निर्माणमा सहभागी रहने प्रतिवद्धता जनाउछौ ।

३) राष्ट्रिय युवा नीति २०७२, युथ भिजन २०२५, राष्ट्रिय युवा परिषद गठन ऐन २०७२ कार्यान्वयनमा आएको अवस्थामा तत्काल आवश्यक स्रोत साधनसहित तुरुन्त प्रभावकारी कार्यान्वयन गरिनु पर्दछ । युवा तथा खेलकुद मन्त्रालयमा युवालाई नै मन्त्री बनाईनु उपयुक्त हुन्छ । युवा परिषदको गठनलाई केन्द्रमा पुर्णता र स्थानिय तहमा पारदर्शी तरिकाले क्षमतावान्लाई कदर गर्दै यथासक्य विकेन्द्रीकरण गरिनु पर्दछ । युथ भिजनको कार्यान्वयनका लागि आवश्यक स्रोत साधन र व्यवस्था पनि गरिनु आवश्यक छ । युवासँग सम्वन्धित नीति तथा व्यवस्थाहरुको कार्यान्वयनका लागि युवाको पहिचान, प्रतिनिधित्व र पहुँचसहितको आवश्यक साझेदारी र सहयोग गर्न हामी युवा प्रतिवद्ध छौं ।

४) नयाँ संविधानले केही अधिकारहरु प्रत्याभुत गरेतापनि युवा दृष्टिकोणबाट हेर्दा कतिपय संवैधानिक निकायमा नियुक्ती गर्दा युवालाई बन्देज लगाइएको हो कि भन्ने परेकोले त्यो सच्याईनु तथा १६ वर्षमा नागरिकता पाउने वित्तिकै मतदानको अधिकार दिईनु उपयुक्त हुन्छ । यसैगरि बैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका करिब ४० लाख भन्दा बढी नेपाली युवाको लागी विदेशमै बसेर मतदानको प्रकृयामा सहभागी गराउन सम्बन्धित निकायहरुलाई आग्रह गर्दछौं । संविधानको समुचित कार्यान्वयनको लागी आफ्नो रचनात्मक भुमिका निर्वाह गर्न हामी युवा प्रतिवद्ध छौं ।

५ ) नीति निर्माण तहमा युवाको प्रभावकारी नेतृत्व र सहभागीताले नै देशको दु्रत गतिमा समृद्धी हुने भएकोले सामाजिक, सास्ंकृतिक र राजनीतिक क्षेत्रमा युवाको सार्थक सहभागीताको सुनिश्चिता गरिनु पर्दछ । हामी युवा नेतृत्व लिन तयार छौं । युवाको सशक्तिकणको क्षेत्रमा काम गर्न प्रतिवद्ध छौं ।

६)  युवा मैत्री बजेट र विकासका लागि स्थानिय तहदेखि नै निर्णायक प्रकृयामा युवा सभागिता सुनिश्चित गर्दै युवाको विकासमा मुलप्रवाहिकरण आवश्यक छ । सहभागितामुलक निर्णय प्रकृया र युवाको अर्थपुर्ण सहभागिताका लागि अनवरत रुपमा लागिरहन हामी युवा प्रतिवद्ध छौं ।

७ )  संगठित हिंसा, समुहगत हिंसा र अन्य विभिन्न प्रकारका हिंसात्मक व्यवहारबाट युवालाई टाढा रहने वातावरण तयार गरिनु पर्दछ । यस प्रकारका हिंसात्मक कृयाकलापबाट युवालाई मुक्त गर्न नसक्दासम्म दिगो शान्ति र सद्भाव कायम रहन सक्दैन । हामी युवा सबै प्रकारका संगठित हिंसा, समुहगत अपराध र सबै प्रकारका राजनीतिक, सामाजिक, साँस्कृतिक र अपराधजन्य हिंसाको अन्त्यका लागि कृयाशिल रहन प्रतिवद्ध छौं ।

८) कुनैपनि विभेद र असमानताले समाजको उन्नतीलाई रोक्दछ । न्यायपुर्ण र समतामुलक समाज निमार्णका लागी सवै प्रकारका विभेद, कुरीति (बाल बिवाह, बहु विवाह, दहेज, लैङ्गिक हिंसा आदी) अन्याय, असमानता र हिंसाको अन्त्यका लागि सामुहिक ऐक्यबद्धता अभियान आवश्यक छ । हामी युवा समाजमा विद्यमान सबै किसीमको असमानता, विभेद, हिंसा र कुरीतिको अन्त्य गर्न प्रतिवद्ध छौं ।

९) युवाहरुको मानसिक र यौन तथा प्रजनन् स्वास्थ्य लगायतका सवालहरु व्यक्तिको शारिरीक मानसिक र समग्र विकासका लागि महत्वपुर्ण विषयहरु हुन् । हामी युवा लक्षित कार्यक्रम तय गर्दा युवाको मानसिक स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्यसँग सम्वन्धित सवालहरुलाई युवा लक्षित कार्यक्रमहरुमा समावेश गर्न प्रतिवद्ध छौं ।

१०) समानुपातिक र समावेशी युवा महिला सहभागिताको सुनिश्चिता हुनु आवश्यक छ । साथै तेस्रो लिंगी, अपांगता भएका युवाको सहभागिता सुनिश्चित गर्नुपर्दछ । सबै क्षेत्र, वर्ग, समुहका महिलाहरुको समान नेतृत्व विकास विना देशको समग्र विकास संभव छैन । हामी युवा परिवारदेखी देशको नीति निर्माण तहसम्म समानुपातिक र समावेशी युवा महिला सहभागिताका पक्षमा प्रतिवद्ध छौं ।

११ ) जनसांखियक लाभका रुपमा रहेका युवा कमै मात्र जनशक्तिहरुको उत्पादनमुलक काममा लगाउनु आवश्यक छ । जनसांख्यिक लाभ इतिहासमा एकपटक आउने भएकाले यो नेपालका लागि एउटा महत्वपुर्ण अवसरका रुपमा रहेको छ । यसका लागि राष्ट्रका सबै नीतिहरुले सम्वोधन गर्नु आवश्यक छ । युवा हामी आफै राष्ट्र निर्माणको नेतृत्व लिन र युवालाई सृजना र उत्पादनमा सहभागी गर्न र गराउन प्रतिवद्ध छौं ।

१२ )  रोजगारी युवाको चासो र अधिकारको विषय हो । नया संविधानले रोजगारीको हकलाई मौलिक हकका रुपमा व्यवस्था गरेको छ । युवामा श्रम प्रतिको सम्मानको अभिवृद्धी गर्दै, देश भित्रै युवाका लागी आवश्यक शिप विकास र अर्थाेपार्जनका अवसर सृजना गरिनु पर्दछ । जसका लागी जिम्मेवार मन्त्रालय, विभाग र निकाय विच अन्तरसमन्वय आवश्यक छ । शिक्षालाई व्यवहारमुखी, जिवनउपयोगी र व्यवसायिक बनाईनु पर्दछ । हामी युवा श्रम प्रतिको सम्मान अभिवृद्धी गर्दै देश भित्रै अर्थाेपार्जनका नयाँ संभावनाको पहिचान र पहिचान भएका क्षेत्रमा काम गर्न प्रतिवद्ध छौं ।

१३)  वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउदै विप्रेषणलाई दिगो आयआर्जनको आधारको रुपमा प्रयोग गरिनु पर्दछ । बैदेशिक रोजगारीले ल्याउने सामाजिक मुल्यलाई कमी गर्न आवश्यक रणनीति तयार गरिनु आवश्यक छ । उर्जाशिल युवा जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउनु तत्कालको विकल्प भएपनि दिगो समाधान होइन ।बैदेशिक रोजगारीको लाभलाई अभिबृद्धि गर्दै बैदेशिक रोजगारीले परिवार, समाज र राष्ट्रमा ल्याउने सामाजिक मुल्यहरुलाई कमी गर्न, देशमै युवाका लागि रोजगारी र उद्यमशिलता सृजनाका पक्षमा हामी प्रतिवद्ध छौं ।

१४) सुचना प्रविधीको अधिकतम उपयोगबाट नेपालको विकासलाई तिव्रता दिन सकिन्छ । यसैले सवै युवालाई सुचना प्रविधीको माध्ययमले जोड्दै युवाको पहुँच अभिवृद्धी गर्नु पर्दछ । सुचना प्रविधीको क्षेत्रमा युवाहरुकै बाहुल्य छ र यसको वृहत विकासको लागी हामी युवा प्रतिवद्ध छौं ।

१५ )  लागु औषध दुव्र्यसन, एच.आई.भी र एड्स जस्ता क्षेत्रमा जोखिममा रहेका युवाको अधिकारलाई सम्मान गर्दै उनिहरुलाई उचित अवसर दिईनुपर्दछ । हामी युवा राष्ट्रिय युवा नीतिमा उल्लेख गरिए अनुसार जोखिममा परेका र जोखिममा पर्न सक्ने युवालाई उचित परार्मश र सहयोग दिन प्रतिवद्ध छौं ।

१६) भुकम्प, बाढी पहिरो, आगलागी जस्ता प्राकृतिक विपत्तीका कारण प्रत्येक वर्ष देशमा ठुलो धनजनको क्षति हुने गर्दछ । विपत्तीको जोखिम न्युनिकरण गर्न र विपत्ति आईसकेपछिको प्रभाव कम गर्न तत्काल आवश्यक संयन्त्रको विकास गरिनुपर्दछ । हामी युवा यस्ता विपत्तीको बारेमा आवश्यक जनचेतना जगाउन र विपत्ती परेका बखत स्वयंसेवी भएर नेतृत्व गर्न प्रतिवद्ध छौं ।

१७)  राज्यका विभिन्न पदमा रहेका व्यक्तिहरुलाई जनताप्रति जवाफदेही वनाउनु आवश्यक छ । हामी युवा पारदर्शी र जिम्मेवार प्रशाशन यन्त्रको निर्माणमा चेतना अभिबृद्धि गर्न र सहयोग गर्न प्रतिवद्ध छौं ।

१८ ) व्यक्तिको नागरिक तथा राजनैतिक अधिकारको सम्मान हुनु पर्दछ । आफ्नो अधिकार प्रयोग गर्दा अरुको कसैको पनि अधिकार हनन हनु हुदैन । कुनै व्यक्तिको व्यक्तिगत स्वतन्त्रता हनन हुने गरी गरिने कुनैपनि कृयाकलापको विकल्पहरु खोज्नका निम्ती हामी युवाहरु प्रतिवद्ध छौ ।

Photo Album – On AYON Facebook

Thankyou_card_NYA

%d bloggers like this: