समभाव, सद्भाव र संवादकालागि युवाको आव्हान
मिति २०७२ भदौ १०
देश अहिले विषम परिस्थितीबाट गुज्रिरहेको छ । संघियता सहितको संविधानको विषयवस्तु पेचिलो बन्दै जाँदा देशका विभिन्न क्षेत्रमा आन्दोलनहरु भईरहेका छन् । यसै क्रममा सुर्खेत, कैलाली, रौतहट, सप्तरी लगायतका जिल्लाहरुमा आन्दोलनको क्रममा भएका हिंसात्मक घटनाबाट नेपाल प्रहरी, शसस्त्र प्रहरी का अधिकारीहरु तथा आन्दोलनकारीहरुको निधन भएको घटनाबाट हामी दुखित र मर्माहित छौ । यसैगरी स्थानीय सञ्चारमाध्यमहरु, नीजि तथा सार्वजनिक सम्पत्ति माथि भएको आक्रमणले हामीलाई चिन्तित बनाएको छ ।
यसै आन्दोलनको सेरोफेरोमा रहेर फेसबुक, ट्विटर तथा अन्य सामाजिक सञ्जालको माध्यम मार्फत भईरहेका साम्प्रदायिकता तथा सामाजिक सद्भाव र समभावलाई भड्काउने र हिंसालाई प्रश्रय दिने खालका पोष्ट र टिप्पण्ीले समाजमा थप अराजकता तथा विकृति ल्याउने र त्यसले सामाजिक मेलमिलाप, एकता तथा भाईचारामा थप खलल पुर्याउने जोखिम बढाउँछ । यस्ता सन्देशको प्रयोगबाट समाजमा थप हिंसा भड्किन सक्ने देखिएकोले हामी सम्पूर्ण युवा साथीहरुका साथै यस्ता सञ्जालका प्रयोगकर्ताहरुलाई त्यस किसिमका सन्देश तथा सुचना प्रवाह नगर्न हार्दिक अपिल गर्दछौ ।
अहिलेको जटिल र संवेदनशिल परिस्थितीमा समाजमा सामाजिक, जातिय, धार्मिक तथा क्षेत्रिय समभाव र सद्भाव बढाउन र समाजमा एकता, मेलमिलाप तथा आत्मियता तथा समभावलाई पुर्नस्थापित गर्नको लागि युवाको अत्यन्तै ठुलो भुमिका रहन्छ । यसको लागि यस्ता आन्दोलनग्रस्त क्षेत्रका युवालाई समभाव राखी सामाजिक सद्भाव बढाउने खालका गतिविध गर्नको लागि हामी आव्हान गर्दछौ ।
यसैगरी, तराई मधेश क्षेत्रमा देखिएको आन्दोलनको बारेमा तत्काल वार्ता तथा संवादको प्रक्रियाको थालनी गर्नको लागि नेपाल सरकार तथा सम्पूर्ण राजनीतिक दलका नेतृत्व र सम्बन्धित पक्षहरुलाई हामी हार्दिक आग्रह गर्दछौ । साथै अहिले भईरहेका आन्दोलनहरुमा सम्पूर्ण पक्षहरु जिम्मेवार रुपमा प्रस्तुत हुन हार्दिक अपिल गर्दछौ ।
युवा भविष्यका कर्णधार मात्र नभई वर्तमानका साझेदार हुन । युवा संयमित र जिम्मेवार हुँदो सामाजिक समभाव र मेलमिलापलाई जोगाउन र बढाउन सकिन्छ । युवाले सामाजिक सद्भाव र एकतालाई प्रवद्र्धन गर्न र विभिन्न जातजाति, धर्म संस्कृति, क्षेत्र, लिंगको बीचको सद्भावलाई बढाउनको लागि महत्वपूर्ण योगदान गर्न सक्छन् । त्यसैले हामी देश भित्र तथा बाहिर रहेका सम्पूर्ण युवालाई देशको अहिलेको जटिल अवस्थालाई हृदयंगम गरि सामाजिक सद्भाव, भाईचारा, एकता तथा मेलमिलापलाई प्रवद्र्धन तथा सम्वद्र्धन गरि ईतिहासले सुम्पिएको जिम्मेवारीलाई पुरा गर्नको लागि हार्दिक अपिल गर्दछौ ।
————————————
नेपाल युवा संस्था संजाल (आयोन), युवा अभियान, युवा कार्य नेपाल, युथ एड्भोकेसी नेपाल, दलित युवा संघ, वि इन्स्पाएर नेपाल, युवा लगाएत युवा समुहहरु