युवा प्रतिनिधिद्वारा राजनीतिक सहमति गरी संविधान निर्माणमा जुट्न आग्रह
14 May, 2009
काठमाडौं । वैशाख ३१ गते
विभिन्न युवा संस्थाका युवा प्रतिनिधिहरूले राजनीतिक सहमति गरी देशको निकास खोज्न र समयमै संविधान निर्माण गर्न आग्रह गरेका छन् । नेपाल युवा संस्था सञ्जाल (आयोन) र सञ्जालसँग आबद्ध संस्थाका युवाहरूको प्रतिनिधिहरूले संयुक्त रूपमा एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय कार्यालय सचिव काशिनाथ अधिकारीलाई भेटी सो आग्रह गरेका हुन् ।
युवा प्रतिनिधिहरूले युवाहरूको तर्फबाट तयार पारिएको सार्वजनिक अपिल एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय कार्यालय सचिव अधिकारीलाई हस्तान्तरण गर्दै विभिन्न राजनीतिक दलबीच देखिएको असमझदारीलाई सहमतिमा ल्याई देशमा देखिएको भय तथा त्रास युक्त वातावरणको अन्त्य गर्न अपिल गरेका छन् । उनीहरूले राष्ट्रिय निर्माणमा युवाहरूको महत्वपूर्ण भूमिका रहँदै आएकाले यस्तो विषम परिस्थितिमा युवाको आवाज राजनीतिक दलले सुन्नुपर्ने उल्लेख गर्दै देशमा युवाले पनि केही गर्न चाहेकाले राजनीतिक सहमति गर्न र युवाको आवाजलाई सुनिदिन माग गरे ।
एमाले पोलिटब्युरो सदस्य तथा कार्यालय सचिव अधिकारीले अभूतपूर्ण मोडमा देश गुज्रिएकोमा चिन्ता व्यक्त गर्दै युवाहरूको यस अभियानको पहलकदमीमा एमालेको पनि साथ रहने प्रतिबद्धता व्यक्त गरे । उनले के के गर्ने भनेर ठोस रूपमा सल्लाह दिन र सहयोग गर्न युवाहरूसँग आग्रह गर्दै जुन पार्टीले गलत गर्छ त्यसलाई युवाहरूले दबाब दिन सक्नु पर्ने धारणा व्यक्त गरेका थिए ।
राजनीतिककर्मीहरूलाई सचेत गर्नु अहिले विभिन्न संघसंस्थाका युवाहरूको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै नयाँ संविधान समयमा नै बनी देशको आर्थिक, सामाजिक कुरालाई समाउन सकोस् भन्ने पक्षमा नै एमाले रहेको उनले उल्लेख गरे ।
देशमा राजनीतिक दलबीच देखिएको असमझदारीले नेपाली युवाहरू भय र त्रासमय रहेकाले संयम रही राजनीतिक सहमति गराउन अभियान थालेको युवा सञ्जालका कार्यक्रम संयोजक लक्ष्मी निरौलाले जानकारी दिए । उनले भोलि माओवादी, काँग्रेस, मधेसी जनअधिकार फोरमलगायतका पार्टी कार्यालयमा पुगी राजनीतिक सहमति गरी देशमा देखिएको अन्यौलताको अन्त्य गर्न र समयमै संविधान निर्माण गर्न आग्रह गरिने जनाए ।
अपिलमा भनिएको छ, "वर्तमान जटिल परिस्थितिमा उत्पन्न समस्याको समाधानको लागि सम्पूर्ण राजनीतिक दलहरूले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान तथा अन्य सहमति तथा सम्झौताहरूको पूर्ण पालना गरी लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधान निर्माण र दिगो शान्ति स्थापनाको जिम्मेवारी पूरा गर्न सबै राजनीतिक दलहरूले प्रतिबद्धता जाहेर गरी अघि बढ्नु अहिलेको राष्ट्रिय आवश्यकता हो ।"
-राजु पासवान
In the News
- जेठ १४ मै संविधानको घोषणा गर्नको लागि संयुक्त नागरिक खबरदारी
- Documentation, Presentation and Knowledge Management Training
- Strategic Location Meeting Held in Pokhara
- युवा मैत्री फुटबल सम्पन्न
- International Youth day 2009 Celebrated
- चौथो वार्षिक साधारणसभा २०६६ सम्पन्न
- दोश्रो राष्ट्रिय राष्टिय युवा सम्मेलन सम्पन्न
- Regional Youth Summit in Chitawan




