+(977 1) 4257680 Contact: ayon@ayon.org

जनप्रतिनिधिलाई युवाको प्रश्न- विपद व्यवस्थापनको नीति के छ?

 

जनप्रतिनिधिलाई युवाको प्रश्न- विपद व्यवस्थापनको नीति के छ?

सेरोफेरो/सुर्खेत
जनप्रतिनिधिलाई युवाको प्रश्न- विपद व्यवस्थापनको नीति के छ?१४ भदौ । केन्द्रीकृत शासन छँदै कर्णाली विकासका दृष्टिले निकै पछि थियो । मुलुक संघियतामा गईसकेपछि स्वशासनको अभ्यास गर्दै सबैभन्दा पहिले यही प्रदेशले नामाकरण र राजधानीको टुंगो लगायो ।

 

नाम फेरी पनि कर्णाली नै राखियो । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर । हाल प्रदेशका २५ नगरपालिका र ५४ गाउँपालिकामा स्थानीय सरकार छन् । समग्र प्रदेशको नेतृत्व प्रदेश सरकारले गरेको छ ।

 

सबैको साझा उद्धेश्य छ कर्णाली प्रदेशको समृद्धि । स्वाभाविक हो जनप्रतिनिधिहरु विकास चाहन्छन् । तर काम गर्ने तौर तरिका नमिलाउँदा प्रदेशमा धेरै समस्या समाधानको पर्खाइमा छन् । जसमा एक हो विपद व्यवस्थापन ।

 

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागूऔषध, बालविवाह र प्राकृतिक प्रकोप ठूलो समस्याको रुपमा रहेको यहाँका युवाहरुले बताएका छन् । फोहर व्यवस्थापन र सडक सुधारमा कसैको ध्यान नगएको उनीहरुको गुनासो छ । युवाहरु भन्छन् विकासका नाममा आतंक किन भईरहेको छ ? विपद् व्यवस्थापनको नीति के छ?

 

बिहिबार नेपाल युवा संस्था संजाल (आयोन) र मानबअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक) नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको उत्तरदायित्व संवाद कार्यक्रममा सहभागीहरुले जनप्रतिनिधिलाई यस्तो प्रश्न गरेका हुन् ।

 

कार्यक्रममा युवाहरु यज्ञ खत्री, मिलन विसी, जगतराज ढकाल, गगनसिंह ठकुरीलगायतले विभिन्न समसामयिक विषयमा जनप्रतिनिधिलाई प्रश्न सोधेका थिए ।

 

उनीहरुले लागूऔषध दुव्र्यसनी रोक्न तथा गाउँ नगर सफा राख्न स्थानीय तहको योजनाबारे जिज्ञासा राखे । उनीहरुले नगर क्षेत्रमा ढल निकास तथा बाढीपहिरो रोक्न स्थानीय सरकारको योजनाबारे सोधे । युवाले महिला तथा किशोरीको सुरक्षाबारे प्रश्न गरे । सरकारको रणनीतिबारे सोधे ।

 

कार्यक्रममा सुर्खेतको बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत तथा चिङ्गाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्द र वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेल समेतले यस्ता विषयमा जवाफ दिए ।

 

पौडेलले वीरेन्द्रनगर नगरपालीकाको हरेक योजनाबाट प्रकोप व्यवस्थापनका लागि ५ प्रतिशत बजेट खर्च गर्ने योजना रहेको सुनाए । यस्तै नगरका १६ वटै वडामा विपद् व्यवस्थापनका लागि कोष खडा गरिएको पनि उनले जानकारी दिए ।

 

वीरेन्द्रनगर १० का वडा अध्यक्ष रत्नबहादुर बुढाले सुर्खेतको निकास खोल्नका लागि समन्वय गरी अगाडि बढ्ने बताए । त्यस्तै वीरेन्द्रनगर ११ का वडा अध्यक्ष नन्दलाल शर्माले हरेक विकासमा योजना बनाएर मात्र अगाडि बढ्ने बताए ।

 

वीरेन्द्रनगर ६ का वडा अध्यक्ष मोतीप्रसाद कंडेलले टोलटोलमा बाल क्लब गठन गरी फोहोर तथा प्रकोप व्यवस्थापनको लागि अगाडि बढ्ने बताएका छन् ।

 

यस्तै राष्ट्रिय युवा परिषद् सुर्खेतका अध्यक्ष टेकेन्द्र बस्नेतले हरेक स्थानीय तहका युवाहरुलाई प्रकोप व्यवस्थापन तथा सामाजिक अपराध नियन्त्रणका लागि जागरुक बनाउन आफूहरु लागिपरेको बताए ।

 

बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले विपद व्यवस्थापनका लािग नागरिक सचेत हुनुपर्ने बताए ।

 

यस्तै चिङ्गाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले गाउँमा भन्दा शहरमा बढी सामाजिक अपराध हुने भएकाले शहरीकरणसंगै अपराध बढ्ने बताए ।

 

यसैगरी कर्णाली प्रदेशका आयोन सदस्य संस्थाहरुको भेला समेत आज वीरेन्द्रनगरमा सम्पन्न भएको छ । भेलाले प्रदेश अध्यक्षमा हुरेक नेपाल सुर्खेतका चरित्रा केसीलाई छनौट गरेको छ । कार्यक्रममा आयोनका अध्यक्ष हिमाल महत र पुर्व अध्यक्ष देवराज भारद्वाजको उपस्थिती रहेको थियो ।

 

कार्यक्रम मेडिको इन्टरनेशनलको आर्थिक सहयोगमा भएको थियो ।

२०७५ भदौ १४ मा प्रकाशित